नेपालले जित्यो टी-२० सिरिज
(नेपाल क्राईम)
आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो ।
यसअघि नेपालले पहिलो टी-२० १७ रनले जितेको थियो ।
टी-२० सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ ।
अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोड्यो । जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेपछि खेल सुपरओभरमा गएको हो ।
त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो । उनलाई करण केसीले दोस्रो ओभरमा बोल्ड गरेका थिए।
अर्का ओपनर मुक्कामालाले ४७ रन जोडे । ४१ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । आरोन जोन्सलाई सोमपाल कामीले ७ रनमा आउट गरे ।
१७औं ओभरको दोस्रो बलमा करण केसीले मिलिन्ड कुमारलाई १५ बलमा रिजन ढकालको हातबाट क्याच गराए । त्यसपछिका चार बलमा अमेरिकाले १२ रन जोड्यो । अमेरिकाका जहानगिरले अन्तिम दुई बलमा चौका र छक्का प्रहार गरे । तर उनी अर्को ओभरको अन्तिम बलमा सागर ढकालको बलमा दीपेन्द्रसिंह ऐरीबाट १४ रनमा क्याच भए । ६ बलमा १ चौका र १ छक्काको मद्दतमा उनले १४ रन जोडे ।
१९औं ओभरको तेस्रो बलमा करण केसीले हर्मित सिंहलाई २ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।
अन्तिम ओभसमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो । बलिङमा नेपालका सोमपाल कामी थिए । तीन रन चाहिएको अवस्थामा अमेरिका आन्द्रेस गस चौथो बलमा आउट भए। त्यसपछि अन्तिम दुई बलमा अमेरिकालाई दुई रन चाहियो। पाँचौ बलमा अली खानले एक रन लिदा अन्तिम बलमा दुई रन चाहिएको थियो । दुई रन लिने क्रममा जस्दिप सिंह रनआउट भए ।
बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए ।
त्यसअघि नेपालले कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो ।
अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।
नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भए ।
गुल्सन झाले १२ बलमा १९ रन बनाए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए । दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्किंदा करण केसीले एक बलमा छक्का प्रहार गरे ।