अब एयरपोर्ट, ट्राफिक र भरतपुरमा एसएसपी ले नै कमान्ड गर्ने

(नेपाल क्राईम)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजीले यी कार्यालयहरूको कमान्ड सम्हाल्दै आएका थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, अब जसको दरबन्दी जहाँ छ, त्यहीँ खटाउने निर्णय गृह मन्त्रालयले गरेको हो।

पहिले यी कार्यालयहरूमा डीआईजीकै दरबन्दी भए पनि, दरबन्दी कटौतीपछि एसएसपीले कमान्ड सम्हाल्न थालेका थिए। केही वर्षयता अन्य कार्यालयका डीआईजीलाई काजमा खटाएर यी कार्यालयहरूमा जिम्मेवारी दिइँदै आएको थियो।

तर, हाल गृह मन्त्रालयले यी कार्यालयमा स्थायी रूपमा एसएसपीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हालै तीन कार्यालयका लागि नयाँ प्रमुखहरूको नियुक्ति गरेको छ। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा एसएसपी सोमेन्द्र सिंह राठौर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी विनोद घिमिरे, भरतपुर तालिम शिक्षालयमा एसएसपी भूपेन्द्र खत्रीले कमान्ड लिएका छन्।

उनीहरूको केही दिन अगाडि मात्र सरुवा गरिएको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *