कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने
(नेपाल क्राईम)
उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ ।
सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।
तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले जनाए ।
बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको उनको भनाइ थियो । शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको भट्टराईले जानकारी दिए ।