काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक
(नेपाल क्राईम)
सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ ।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ ।
बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन्।