सशस्त्र प्रहरीको राशनमा मनपरी
सशस्त्र प्रहरी मुख्यालयले बेलाबखत जवानहरूको राशन नियमित छ कि छैन भनेर अनुगमन गर्ने गरेको छ । मुख्यालयको अनुगमन भने विभिन्न तालिम केन्द्रहरूलाई लागू भएको छैन । पछिल्लो पटक सशस्त्र प्रहरीका तालिम केन्द्रमा राशनमा अनियमितता हुने गरेको पाइएको छ ।खासगरी एकेडेमी, कुरिन्टार, बर्दघाट नवलपरासी, पाथीभरा झापा र नौबस्ता बाँकेमा यस्तो समस्या रहेको छ । कमान्ड गर्न नसक्ने तर, नेताको चाकडी गरेर बर्दघाट तालिम केन्द्र गएका एसएसपी शंकर खनाल अहिले राशनको पैसा हिनामिना गरेर हिसाब बुझ्न ब्यस्त छन् ।हेडक्वाटरसंगै रहेको कार्यदल गणको गणपति हुँदा राशनको पैसा हिनामिना गरेका खनालको धन्दा अहिले पनि उस्तै रहेको स्रोतले जनाएको छ । त्यहाँ तालिमेहरूलाई कमसल खाना खुवाइने गरेको, स्केल अनुसारको खाना नभएको र मासिक ४ लाखसम्म एसएसपी खनाललाई बुझाउनुपर्ने श्रोतले बतायो ।
खासमा राशन व्यवस्थापन गर्ने काम कमान्डरको नभइ कमान्डभन्दा मुनिका अधिकृतको हो । तर, सबै हिसाब एसएसपी शंकर खनाललाई बुझाउनु पर्ने अवस्था छ । त्यति मात्र होइन तोकिएको संख्या भन्दा अत्यधिक धेरै बिदा छोडेर उनले राशनमा अनियमितता गरिरहेको भए पनि कुनै अनुगमन भएको छैन ।
हेडक्वाटरमा उजुरी गरे पनि सुनुवाइनै नहुने बताइन्छ । ‘जसले जे गरे पनि भएको छ’ श्रोत भन्छ । यस्तै सोर्सफोर्स लगाएर आफ्नै जिल्ला झापाको तालिमकेन्द्र पुगेका एसएसपी राजेश उप्रेतीको राशनमा रजाइँ चलेको स्रोतले बताएको छ । उनी कहिल्यै तालिमकेन्द्र भित्र भेटिदैनन्, तर राशनबाट मासिक ३ लाखसम्म बुझाउनुपर्ने श्रोतको दाबी छ ।
प्रहरी मुख्यालयमा रहँदा महिला जवानहरूलाई ऐना हेर्न सिकाउने उप्रेतीको धन्दा जवनालाई घर बिदा छाड्ने र लेखासँग मिलेर राशनको हिसाब बुझ्ने मात्रै रहेको छ । झापामा कुनै दुर्घठना भए तालिम केन्द्रबाट कहिलेकाही आपतकालीन रुपमा बाहिर गस्तीमा खटाउने जनशक्ति पनि नराखी घरबिदामा छाड्ने गरेको त्यहीबाट एक तालिमेले जानकारी दिए ।
यहि समस्या कुरिन्टार र एकेडेमीमा पनि छ । एकेडेमीमा डिआइजी कमल गिरीले मासिक ५ लाखसम्म राशनबाट खाने गरेका छन् । यस्तै, कुरिन्टरको तालिम केन्द्रमा एसएसपी माधव पौडेल र एसपी जनक पुरीको रजाइँ छ । दुबै ब्याजी भएकोले मिलाएर राशनमा ब्रम्हलुट गरेको बताइन्छ ।
यस्तै, सर्लाही हुँदा जुवा खेलेर कमान्डबाट तानिएक एसएसपी गंगाराम श्रेष्ठले बाँकेको तालिम केन्द्रमा तालिम गराउन भन्दा राशनमा आँखा लगाउने गरेका छन् । उनले हरेक दिन कति खर्च भयो भन्दै हिसाब खोज्ने गरेको बताइन्छ । अझ अचम्म त के छ भने यी तालिम केन्द्रमा तालिमेलाई तालिमको बिचमा २ हप्तासम्म आउट छोडिन्छ । तर, सबैले त्यो समयको पनि राशनको पैसा बुझाउनुपर्छ । नत्र, विभिन्न बहानामा दुःख दिने गरेको गुनासोसमेत तालिममा भएकाहरूले गर्ने गरेका छन् ।
‘यस्तो बिषयम छानबिन भएपनि चोख्याउने ढंगले हुन्छ यो ओपन सेक्रेट जस्तै हो’ स्रोतले भन्यो, ‘छानबिन समिति बनेपनि चोख्याउने र मिलाउन ढाकछोप गर्न सक्नेलाई समितिमा राखिन्छ र केही नभएको प्रतिबेदन बनाइन्छ ।’(रास्स)