शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जको जनजीवन प्रभावित
( उपेन्द्र सिंह/ रिशव वैश्य ) बाँकेमा पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जको जनजीवन प्रभावित बनेको छ ।जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए । बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कम मात्रामा देखिएको छ ।