नेपाल प्रहरीको स्टाफ कलेज मानिएको एडभान्स पुलिस स्टडिज (एपिएस) कोर्स सुरु

नेपाल प्रहरीको स्टाफ कलेज मानिएको एडभान्स पुलिस स्टडिज (एपिएस) कोर्स सुरु भएको छ। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले मंगलबार प्रवेश परीक्षाका लागि १४४ जना डीएसपी र इन्सपेक्टरहरूको नाम सार्वजनिक गरेको छ।

२०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टरहरूले यो कोर्समा सहभागी हुनेछन्। यो कोर्स नगर्नेहरू एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले यसलाई महत्त्वपूर्ण मानिएको छ।

फागुनमा प्रवेश परीक्षा, चैतदेखि पढाइ सुरु
नेतृत्व विकास र प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमलाई लिडरशीप एण्ड स्टाफ कलेजले व्यवस्थापन गर्दै आएको छ। प्रवेश परीक्षा फागुनमा सञ्चालन गरिनेछ भने चैतदेखि औपचारिक रूपमा पढाइ सुरु हुने तयारी छ।

प्रवेश सूचीमा को-को छन्?
प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीमा डीएसपी रञ्जन अवा, कमल बेल्बासे, यम कुमार श्रेष्ठ, एलिजा गिरी, चेतना पोख्रेल, सुधिर राई, अनमोल खड्का, सुरक्षा केसीलगायत रहेका छन्।

इन्सपेक्टरतर्फ इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, रमेश दत्त अवस्थी, हिमबहादुर खत्री, मधु नेपाल, चक्रबहादुर डम्बरपाल, जनक पुरी, लोकबहादुर जिसी, दिपक सुवेदीलगायत छन्।

स्टाफ कलेजको महत्व
स्टाफ कलेजलाई प्रहरी सेवामा उच्च पदमा पुग्न चाहने अधिकृतहरूको लागि माइलस्टोन मानिन्छ। यसले प्रहरी संगठनभित्र नेतृत्व विकास, रणनीतिक योजना निर्माण, र प्रशासनिक दक्षता बढाउने अपेक्षा गरिएको छ।

यो कार्यक्रम प्रहरी सेवामा पेशागत विकासको नयाँ आयामका रूपमा स्थापित हुने विश्वास गरिएको छ।(रास्स)

Add a Comment

Your email address will not be published. Required fields are marked *