अब ओभरलोड गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार
(नेपाल क्राईम)
क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ।
गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ। गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो।
गृहको परिपत्र अनुसार अब स्थानीय स्तरमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाइए स्थानीय प्रहरीले कडाइसाथ कारबाही गर्नुपर्ने भएको छ।
प्रहरीको लापरबाहीका कारण सवारीसाधन दुर्घटनाग्रस्त भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी इकाई प्रमुखले लिनुपर्ने भएको छ। पछिल्लो समय स्थानीय स्तरमा घातक दुर्घटना बढेका छन्। नियमन कमजोर हुँदाको फाइदा उठाउने र सवारीसाधन नियमित जाँच नहुँदा दुर्घटना दोहोरिने गरेको छ।
उक्त बैठकले सवारीसाधनले क्षमताभन्दा धेरै मालसामान तथा यात्रु बोकेर गुड्ने, मालसामान बोक्नेले यात्रु बोक्ने र यात्रु बोक्नेले मालसामान समेत बोक्ने गर्दा जोखिम बढेको भन्दै प्रहरीले नियमित जाँच गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
यसका साथै एउटै चालकले लामो दुरीको यात्रा तय गर्ने, सार्वजनिक सवारीसाधनमा यात्रुलाई टिकट नलिई यात्रा गराउने, तीव्र गतिमा सवारीसाधन चलाउने, नियमित रूपमा सवारीसाधनको यान्त्रिक स्थिति र स्वरूपको परीक्षण भए–नभएको लगायत प्रचलित सवारी तथा यातायात सम्बन्धी प्रचलित कानुनमा उल्लेख विषयमा समेत प्रहरीले नियमित जाँच गर्ने निर्णय गरेको छ।(रास्स)