नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने
(नेपाल क्राईम) नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै प्रहरी महानिरीक्षकको सचिवालयले सबै प्रहरी कार्यालयलाई कार्यान्वयनका निम्ति पत्राचार गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले सुरक्षा निकायसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग नगर्न निर्देशन दिएको छ। गत असोज ११ गतेको गृहमन्त्रीस्तरीय निर्णय र असोज १५ गते प्रहरी महानिरीक्षक सचिवालयको आदेशको प्रतिलिपि काठमाडौं महानगरपालिकासहित ११ वटा स्थानीय पालिकालाई पठाउँदै परिसरले एउटै किसिमको पोशाक र दर्ज्यानी चिन्हको प्रयोगले आम नागरिकमा द्विविधा उत्पन्न भएको जानकारी गराएको छ।
विभिन्न सरकारी, गैरसरकारी र निजी सुरक्षा संघसंस्थामा कार्यरत सुरक्षा गार्डको पोशाक र दर्ज्यानी चिन्ह मिल्दोजुल्दो हुँदा अपराधिक क्रियाकलाप, शान्ति सुरक्षा र सुरक्षा निकायबाट हुने कार्यसम्पादनमा बाधा पुगेको परिसरको जिकिर छ।
‘नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालले प्रचलित कानुनबमोजिम हाल प्रयोग गर्दै आएको पोशाक तथा दर्ज्यानी चिन्हहरुसँग मिल्दोजुल्दो हुनेगरी विभिन्न सरकारी तथा गैरसरकारी र निजी सुरक्षा संघसंस्थाहरुका सुरक्षा गार्डहरुले समेत पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्ने गरेको पाइएको हुँदा सो कार्यबाट आम नागरिकहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत प्रहरी कर्मचारीहरुको पोशाक तथा दर्ज्यानी चिन्हहरु सम्बन्धमा द्धिविधा वा भ्रम उत्पन्न भई कतिपय अवस्थामा अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु हुने तथा शान्ति सुरक्षा कायम गर्ने–गराउनेलगायतका सुरक्षा निकायबाट हुने गतिविधिमा बाधा व्यवधानसमेत उत्पन्न हुने…’,पत्रमा उल्लेख छ।