एसपी-डीएसपी सरुवाको तयारी
प्रहरी नियमावली, २०७१ ले प्रहरी उपरीक्षक (एसपी) दर्जासम्मको सरुवा अधिकार स्पष्टरूपमा प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) र एसपीको नियमित सरुवाको सूची अहिले गृहमै अड्किएको छ ।इन्चार्ज भएको एक वर्षमा सरुवा गर्ने व्यवस्था नियमावलीमै छ । तर, केही एसपीको १४ महिना कट्दा पनि उनीहरूलाई सरुवा गरिएको छैन ।
विशेषगरी जिल्ला प्रहरी कार्यालय कास्की, सप्तरी, दाङ, मकवानपुर, सुनसरी, कपिलवस्तु, पूर्वी नवलपरासी र डोटीका जिल्ला प्रहरी प्रमुखको अवधि एक वर्ष नाघिसकेको छ । डोटीबाहेक अन्य जिल्लाको इन्चार्ज जान थुप्रै एसपी आकांक्षी देखिएका छन् । आकांक्षीहरूले नै इन्चार्ज जान तीव्र ‘पोलिटिकल लबिङ’ गरेकै कारण सरुवा रोकिएको हो ।
प्रहरी मुख्यालयले भने पहिला डीएसपीको सरुवा गरेपछि मात्रै एसपीको सरुवा गर्ने तयारी गरेको छ । डीएसपीको सरुवा सूची गृहमा बुझाएको एक साता बढी भइसकेको छ । तर, आकांक्षी डीएसपीहरूले नै गृहमन्त्री रमेश लेखकलाई इन्चार्जमा पठाउन दबाब दिएका कारण सरुवा सूची हेरफेर हुने देखिन्छ ।
गृह स्रोतले भन्यो, ‘अहिले डीएसपी इन्चार्ज खाली भएका २८ वटा इलाका प्रहरी कार्यालय छन् । ती स्थानमा जान आकांक्षीको मरिहत्ते देखिन्छ । त्यही भएर प्रहरी मुख्यालयको सूची हेरफेर हुने सम्भावना धेरै छ ।’ गृहमन्त्री लेखकले कार्यक्षमता र दक्षताका आधारमा सरुवा गर्ने भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आए पनि आन्तरिक राजनीतिक दबाबमा त्यसो नहुने देखिन्छ ।
पहाडी र तराईका केही इलाका प्रहरी कार्यालयमा डीएसपी इन्चार्जको रूपमा रहन्छन् । त्यस्तै, काठमाडौं उपत्यकाकै प्रहरी वृत्तमा जान डीएसपीहरूको मारामार छ । जिल्लामा एसपी र डीएसपी आफूले रोजेर लैजाने राजनीतिक प्रवृत्तिले पनि नियमित सरुवा रोकिने गरेको छ । एक वर्ष अवधि नाघिसकेका १ सय ५० भन्दा बढी डीएसपीको सरुवा हुन सकेको छैन ।
प्रहरी मुख्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले डीएसपी र एसपीको सरुवा तयारी थालिएको बताए । उनले भने, ‘डीएसपीको सरुवा तयारी अन्तिम चरणमा पुगिसकेको छ र एसपीको सरुवाबारे हेडक्वार्टरले सूची हेरेर कसलाई कहाँ पठाउने भन्ने तय गर्न बाँकी छ ।’
आईजीपी वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन भोलि ग्रिस जाँदैछन् । उनले आजै (आइतबार) डीएसपीको सरुवा प्रयास थाल्ने स्रोतले बतायो ।
‘सरुवा सूची त एक साताअघि नै गृह पुगेको हो, केही हेरफेर गर्नुपर्ने भयो भनेर मन्त्रीले भन्नुभएका कारण रोकिएको हो,’ मुख्यालय स्रोतले भन्यो, ‘आज भ्याइयो भने डीएसपीको सरुवा निस्कन्छ कि !’ एसपीको सरुवा आईजीपी इन्टरपोलको महासभाबाट फर्किएपछि मात्रै हुने स्रोतले बतायो । कुँवर १५ गते नेपाल फर्किने कार्यक्रम छ ! (रास्स)